सरकारले आज काभा महिला भलिबल खेल्ने १४ जना खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने
काठमाडौं । सरकारले आज महिला भलिबल खेलाडीलाई पुरस्कार वितरण गर्ने भएको छ । बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
गत साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो ।
बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो ।

.gif)