गण्डकी प्रदेश कमिटीद्वारा कांग्रेसको उम्मेदवार सिफारिस
प्रत्यक्षतर्फ अधिकांश पुरुषको नाम, समानुपातिकमा महिलाको लर्को
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश कमिटीले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने आकाङ्क्षीको नाम तल्लो कमिटीबाट संकलन गरेको छ ।
मनाङ र मुस्ताङबाहेक जिल्लाका क्षेत्रीय समितिबाट सिफारिस भएका नाम जिल्ला हुँदै प्रदेशमा पुगेको हो । मनाङ र मुस्ताङको प्रतिनिधि सभा प्रत्यक्षतर्फको नाम भने टुंगिन बाँकी रहेको कांग्रेस प्रदेश कार्यालयले जनाएको छ । कार्यालयमा सङ्कलन भएको नाम अनुसार, प्रत्यक्षतर्फका चुनावमा पुरुष हाबी भएका छन् भने महिलाहरू समानुपातिकतर्फको निर्वाचनमा बढी आकाङ्क्षी देखिएका छन् ।
प्रत्यक्षतर्फ १ सय ६३ जनाको नाम सिफारिस हुँदा महिला जम्मा १५ जना छन् । समानुपातिकमा भने ६३ जनाको नाम क्षेत्रबाट जिल्ला हुँदै प्रदेशमा सिफारिस भएको छ । जसमा अधिकांश महिलाकै नाम छ । अघिल्लो निर्वाचनमा गण्डकीको कुनैपनि निर्वाचन क्षेत्रबाट कांग्रेसका महिला प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिएनन् । राष्ट्रिय सभामा पनि ५० जनाको नाम सङ्कलन गर्दा महिला ७ जनाले मात्रै आकाङ्क्षा देखाएका छन् । राष्ट्रिय सभाका गण्डकीबाट खुला १ जना र महिलाबाट १ जनाको सिट रिक्त हुँदैछ ।
त्यसैका लागि कांग्रेसले उम्मेदवारको खोजी गरेको हो । त्यसमाथि दलित र अन्य क्लष्टरबाट भने महिलाको उपस्थिति लगभग छैन । आदिवासी जनजातिबाट ५ जनाको नाम छ भने १० जना खस आर्य समुदायका हुन् । दलित क्लष्टरबाट प्रत्यक्ष आकाङ्क्षी छैनन् । कास्की– १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने महिलालाई उम्मेदवारी दिनका लागि प्रोत्साहन गरेपनि उनीहरूले नै आकाङ्क्षा नदेखाएका बताउँछन् ।

.gif)