संसद सेवा दिवसको अवसरमा सांसदहरुले यसरी खेले फुटसल
काठमाडौं । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनु भयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनु भयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज संघीय संसद सेवा दिवस हो । संसद सेवा स्थापना भएको १८ वर्ष पुरा भयो । यसका अवसमा हामी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यहीअनुसार आज प्रतिनिधि सभाको एउटा टिम र राष्ट्रिय सभाको एउटा टिम बनाएर फुटसल खेलिरहेका छौं । टिम क्याप्टेन राष्ट्रिय सभाको सम्माननीय अध्यक्षज्यु हुनुहुन्छ । प्रतिनिधि सभाको म छु ।
यसले युवाहरुलाई खेलप्रति आकर्षित गर्नुका साथै हामीहरुलाई पनि खेल प्रेमि छन् भन्ने सन्देश दिनेछ । राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संसद दिवसको सन्दर्भ पारेर आज फुटसल खेल खेलिँदैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर हामी खेल्दैछौं । यसमा हामीमध्ये कसले जित्ने भन्दापनि नेपालमा खेलकुद क्षेत्रको प्रमोट गर्नको लागि यसले मद्दत गरोस् भन्ने उद्देश्य हो । युवाहरुलाई धेरैभन्दा धेरै खेलप्रति आकर्षण गर्नको लागि यो फुटसलको आयोजना गरिएको हो ।
फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि हुनुहुन्छ ।

.gif)