जेनजी आन्दोलनका घाइतेलाई निर्वाह भत्ता दिइने
साधारणदेखि अति गम्भीर गरी चार वर्गमा विभाजन, अति गम्भीरलाई १८ हजार प्रदान गरिने
काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ ।
घाइतेहरूको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह भत्ता उपलब्ध गराउने भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित प्राविधिक समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर गरी चार वर्गमा विभाजन गर्ने प्रावधान कार्यविधिमा उल्लेख छ ।
कार्यविधिअनुसार मध्यम घाइतेले मासिक ४ हजार, गम्भीर घाइतेले मासिक ९ हजार र अति गम्भीर घाइतेलाई जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार दिइने छ । सामान्य घाइतेलाई भने नगद राहतको व्यवस्था छैन । जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको सिफारिस गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने व्यवस्था छ ।

.gif)