लागुऔषधसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते हुन् ।
रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव घाइते भएका हुन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजिएको थियो। तर उनीहरू भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो ।
भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गर्दै थप दुई राउन्ड गोली चलाएको जनाएको छ। सोही क्रममा यादव घाइते भएका हुन् । प्रहरीले घटनास्थलबाट विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
