रास्वपाले बनायो महाधिवेशन मूल आयोजक समिति
काठमाडौं । रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।
बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि सभापतिको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी गराए । सिंगो केन्द्रीय समिति आयोजक समिति बनेको छ । महाधिवेशन तयारीको लागि विभिन्न उपसमितिहरु पनि बनेका छन् उनले भने ।
रास्वपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाएको छ । बैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ । तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ ।
बैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।
