नेकपाको एकता महाधिवेशन मङ्सिरमा हुने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले जेठ मसान्तसम्म एकता प्रक्रियामा जोडिएका सबै घटकसँग एकीकरण र समायोजनको प्रक्रियालाई अन्तिम रुप दिने बताएको छ । एकीकरण र समायोजन काम सकिए लगतै सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान चलाइने जनाइएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूको कार्यशैली, जीवनशैली र आचरण सुधारका लागि पहल अगाडि बढाइने नेकपाको अन्तरपार्टी निर्देशन(अपानी)–३ मा उल्लेख गरिएको छ । साथै एकता महाधिवेशन आगामी मङ्सिरको दोस्रो सातामा एकता महाधिवेशन गर्ने बताइएको छ ।
वडादेखि केन्द्रसम्मका सबै निर्वाचित पार्टी समितिहरू समावेशी मान्यताअनुसार गठन गरिने, सबै समितिहरूमा पाका, अनुभवी, प्रौढ तथा युवाहरूको समावेशिता सुनिश्चित गरिने उ्रल्लेख गर्दै युवा तथा नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्याउन विशेष जोड दिने बताइएके छ ।
चैत १९ गते सुरु भएको नेकपाको संयोजन समितिको बैठक वैशाख १५ गते सम्पन्न भएको थियो जस अनुसार नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि समेत विशेष पहल गरिने बताइएको छ ।
बैठकको निर्णयलाई संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् । यद्यपि पार्टी समितिमा भने परिपत्र भइ नसकेको नेताहरूले जिकिर गरेका छन् ।
