आन्तरिक कलह र मन्त्रालयको कारवाही प्रक्रियाका बिच क्यानको साधारसभा
मन्त्रालयले सुरु गर्यो क्यानमाथि कारवाही
सुनसरी । नेपाल क्रिकेट संघ(क्यान)को वार्षिक साधारणसभा विराटनगरमा सुचारु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा दुई दिनसम्म चल्ने साधारणसभाको उद्घाटन गरेका हुन्। साधारणसभामा क्रिकेटसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल गरिने बताइएको छ।
यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी उपर छानविन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले क्यानलाई कारवाही गर्न थालेको छ । मन्त्रालयले राखेपलाई पत्र लेख्दै क्यानमाथि कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
विशेषगरी पछिल्लो १० महिनादेखि नवीकरण नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषयले साधारणसभामा प्रमुख एजेन्डाको रूपमा प्रवेश पाउने आँकलन गरिएको छ। क्यानका बोर्ड सदस्यहरूको निवेदनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जाँचबुझ सुरु गरेको छ यस विषयमा भने वार्षिक साधारणसभाले निकास निकाल्छ या बेवास्ता गर्छ भन्न सकिन्न ।
आन्तरिक विवाद र राजनीतिक हस्तक्षेपका कारण यसअघि आईसीसीको निलम्बनमा परिसकेको क्यान फेरि कलहमा फस्न पुगेको हो । क्यानले पछिल्लोपटक २०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो। त्यसबेला गरिएको नवीकरण २०८१ पुस ९ गतेसम्मका लागि मात्रै मान्य रहेको उल्लेख गरिएको छ।
यही विषयलाई लिएर साधारणसभामा पेचिलो बहस हुने अनुमान गरिएको छ। क्यानका बोर्ड सदस्यहरूको निवेदनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जाँचबुझ सुरू गरेको छ । राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलका अनुसार शुक्रबार ७ दिनको म्याद दिएर क्यानसँग लेखापरीक्षणलगायतका कागजात मागिएको छ ।
राखेप सदस्यसचिव रामचरित्र मेहताले पनि पछिल्लो विवादमा आफूहरूले जाँचबुझ थालेको बताएका छन् । क्यानमा वित्तीय अनुशासन नदेखिएको भन्दै नौ जना बोर्ड सदस्यहरूले गत सोमबार राखेपमा निवेदन दिएका थिए ।
