प्रधानमन्त्रीले समय नदिँदा संसदीय समितिको बैठक रोकियो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्बन्धित मन्त्रीको अनुपस्थित भएको भन्दै बहिष्कार गर्यो । प्रतिनिधिसभा नियमावली अनुसार राज्य व्यवस्था समितिको बैठक बस्न गृहमन्त्री वा रक्षामन्त्रीको उपस्थिति अनिवार्य रहेको भए पनि दुवै मन्त्रालय प्रधानमन्त्री बालेन शाहले आफ्नै कब्जामा राखेका करण प्रधानमन्त्री शाहले नै सो बैठकमा उपस्थित हुनु पर्ने हुन्छ ।
कांग्रेसले राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति चाहे पनि प्रधानमन्त्री शाहले भने सो समितिमा सहभागिता जनाउन असमर्थ जनाएका हुन् । कांग्रेसले गृह मन्त्रालयसँग सम्बन्धित सुकुमवासीलगायत विषयमा जवाफ माग्ने धारणा सार्वजनिक गरे सँगै चित्त बुझ्दो जवाफ आउनेमा प्रतिपक्षी दलका सांसदहरु आशावादी छैनन् । गृहमन्त्रीको भूमिकामा प्रधानमन्त्री शाह नै भएकाले शाह आफै आएर जवाफ दिनु पर्ने ठहर सहित समितिको बैठक बहिष्कार गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बताए ।
आफु उपस्थित नहुने सन्देश समिति सभापति हरि ढकाललाई पठाएको र औपचारिक बैठकको कुनै योजना नै नभएका कारण प्रधानमन्त्री शाह सो बैठकमा उपस्थित नभएको समितिका सभापति ढकालले दाबी गरे । बैठक नै नराखिएको बताउँदै ढकालले भने, केवल अनौपचारिक सल्लाह मात्रै गरिएकाले बहिष्कार भन्न मिल्दैन। तर कांग्रेसले उनको दाबीलाई पूरै खण्डन गरेको छ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार संसदीय समितिको बैठक बस्न मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।
नियमावलीको नियम १७८ को उपनियम ४ मा यस्तो व्यवस्था छ । जहाँ भनिएको छ, ‘समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुनेछ । अन्य कार्यसूचीमाथिको छलफलमा समेत मन्त्री उपस्थित हुनुपर्नेछ ।’नयाँ नियमावली भने प्रतिनिधिसभाले पास गरिसकेको अवस्था छैन । यसअघि यही २१ वैशाखका लागि तय भएको राज्य व्यवस्था समितिको बैठक पनि स्थगित भएको थियो । उक्त बैठक स्थगित भएकोबारे त्यसैदिन समिति सभापति हरि ढकालले पहिलो बैठक मन्त्रीको उपस्थितिबिना नराख्ने भनि स्थगित गरेका थिए ।
प्रधानमन्त्री शाहले समय नदिएपछि राज्य व्यवस्था समितिले आफ्नो कार्यक्षेत्र र आगामी एजेन्डाका विषयमा प्रारम्भिक छलफल समेत गर्न पाएको छैन । सोमबार प्रधानमन्त्रीको उपस्थितिबिनै बैठक राखिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बहिष्कार गरेको हो ।
