चालु वर्षको खाता आजदेखि बन्द, बुधबारसम्म ३८ अर्ब ६१ करोड भुक्तानी
काठमाडौँ । चालु वर्षको भुक्तानी खाता आजदेखि बन्द भएको छ ।
सरकारले बुधबार मध्यरातसम्म एकै दिनमा ३८ अर्ब ६१ करोड रुपैयाँ सरकारी खर्चको भुक्तानी गरेको छ। उल्लेखित रकम भुक्तानीसँगै बुधबार राति १२ बजेदेखि सरकारी सबै खाता बन्द गरिएको हो ।
सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको जानकारी गराएकी छन् । कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक सबै भुक्तानी रोकिएको सहमहालेखा नियन्त्रक अर्यालको भनाई छ ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा गरिएको थियो।
महालेखाको तथ्यांकअनुसार बुधबार चालु खर्चतर्फ १४ अर्ब ९३ करोड रुपैयाँ बराबरको भुक्तानी गरिएको छ। पुँजीगत खर्चतर्फ २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको भुक्तानी भएको छ। सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानमा गरिने लगानीका लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च एक अर्ब ९४ करोड रूपैयाँ भुक्तानी गरिएको छ।

.gif)