बङ्गलादेशका विद्यार्थी नेताको निधनबारे निष्पक्ष छानविन गर्न राष्ट्रसङ्घ मानवअधिकार प्रमुखको माग
राजधानी ढाकासहित विभिन्न शहरमा विरोध प्रदर्शन
काठमाडौं । राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले बङ्कलादेशका चर्चित युवा नेता शरीफ उस्मान हादीको निधनबारे तत्काल निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन् ।
हादीको निधनपछि बङ्गलादेशमा हिंसात्मक प्रदर्शन भइरहेको छ । गएको वर्ष ढाकामा गोली लागेर गम्भीर घाइते हादीको सिङ्गापुरमा अस्ति उपचारका क्रममा निधन भएको हो । हादीको निधनपछि राजधानी ढाकासहित विभिन्न शहरमा विरोध प्रदर्शनहरु चर्किएको छ । प्रदर्शनकारीहरूले शाहबाग चोक अवरुद्ध गरेका छन् भने प्रोथोम आलो र डेली स्टार जस्ता प्रमुख सञ्चारमाध्यमका कार्यालयमा तोडफोड र आगजनी गरेका जनाइएको छ ।
यस घटनालाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै सम्पादकहरूले निन्दा गरेका छन् । भारतको कूटनीतिक मिसन नजिक पनि प्रदर्शन भएका कारण सुरक्षा कडा पारिएको छ र भारतीय अधिकारीहरू सुरक्षित रहेको खबरमा उल्लेख छ । यसैबीच बङ्गलादेशको अन्तरिम सरकारले हिंसाको निन्दा गर्दै संयम अपनाउन आह्वान गर्दै दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।
यस्तै बङ्गलादेशमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ । हादीको पार्थिव शरीर ढाका ल्याइसकिएको छ भने आज संसद भवनमा दिउँसो २ बजे अन्त्येष्टि प्रार्थना आयोजना गरिएको छ । बङ्गलादेशमा आउँदो फेब्रुअरी अर्थात् अबको दुई महिनापछि आम चुनाव नजिकिँदै गर्दा उत्पन्न अस्थिरताले सुरक्षा र राजनीतिक अवस्थाप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ ।

.gif)