sevenstartv.com ४ पुष २०८२, शुक्रवार

बीमा भुक्तानी ११ करोड १५ लाख

४ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख बराबरको बीमा रकम भुक्तानी भएको छ ।

बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो । त्यसमा कुल  चार अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको छ । 

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख बराबरको दाबी परेको थियो ।  प्राधिकरणका अनुसार सो दाबीमा  नौ करोड ६४ लाख बराबरको भुक्तानी भएको छ ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब  ५१ करोड ५७ लाखमध्ये कुल सातवटा दाबीको नौ लाख बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब चार करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख भुक्तानी भएको छ ।

यस्तै, मोटर बीमा (निजी)तर्फ ४० वटा बीमा दाबीको करिब दुई  करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको एक  करोड २० लाख भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईवटा दाबीको तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको रु एक करोड १९ लाख र लघुबीमातर्फ दुईवटा दाबीको १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्