sevenstartv.com ५ पुष २०८२, शनिवार

आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्नेमा राष्ट्रपति पौडेलकाे जाेड

१५ असार २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने बताएका छन् । 

आइतबार राष्ट्रिय धान दिवसका अवसरमा  शुभकामना सन्देश जारी गर्दै उनले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएका बताए । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धान खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्