चितवनमा माइक्रो र बस ठोक्किँदा ७ जनाको मृत्यु, १८ जना घाइते
भरतपुर । चितवनमा माइक्रो र बस आपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ -००१ ज २९९ नम्बरको इभी गाडी शनिबार बिहान राप्ती नगरपालिका–४ डडुवा भन्ने स्थानमा आपसमा ठोकिएको हो ।
दुर्घटनामा जीवन गुमाएकाहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका ५ का ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

.gif)