ग्रे-लिस्टबाट बाहिरिन सुनको कारोबारमा पारदर्शिता आवश्यक भएकोले विलासिता कर लगाइएको हो : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे–लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शीता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका छन् ।
बुधबार राष्ट्रियसभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रश्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमा हटाइएको स्पष्ट पारे ।
उनले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको बजेट ल्याइएको समेत बताए । उनले बजेट निर्माणका क्रममा ऋण लिने अभ्यास नेपाल मात्र नभई विश्वका धेरैजसो मुलुकहरूमा कायम रहेको उल्लेख गर्दै ऋण सीमा र दिगो व्यवस्थापनमा सरकार गम्भिर रहेको बताएका छन् ।
मन्त्री पौडेलले लोकतन्त्रको मर्मअनुसार बजेट आएको दाबी गर्दै बजेटले मुलुकको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरका छन् ।

.gif)