sevenstartv.com ५ पुष २०८२, शनिवार

मेची भन्सारले उठायो १४ अर्ब ४३ करोड राजस्व

९ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व संकलन गरेको छ । यो निर्धारित लक्ष्यको ९१.५६ प्रतिशत हो । 

आव २०८१/८२ को जेठसम्ममा १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । गत आव २०८०र८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँ सङ्कलनको लक्ष्य राखिएकामा ७७.५६ प्रतिशतमात्र राजस्व सङ्कलन भएको थियो । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट ६०.८१ प्रतिशत अर्थात्  आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ संकलन भएको छ । 

यसैगरी तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार, दलहनबाट  २० करोड ७७ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

मेची भन्सारबाट चालु आवको ११ महिनामा रु २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ। यसैगरी सोही अवधिमा ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्