पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
काठमाडौं । नेपाल पत्रकार महासंघले देशभरको विषम परिस्थितिमा पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न अपिल गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकारिताको धर्म निर्वाह गरिरहेका सबैको प्रशंसा गर्दै निर्बाध रूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरेका छन् । महासंघले पत्रकारहरूलाई संविधान र कानुनले दिएको प्रेस स्वतन्त्रताको उपभोग गर्दै पत्रकार आचारसंहिताको पालना गर्न र सत्य, सन्तुलित तथा विश्वसनीय समाचार मात्र प्रकाशन गर्न सुझाएको छ ।
यसै गरी, जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्न कुनै पनि पक्षबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको र सम्बद्ध पक्षहरूसँग समन्वय गरिरहेको पनि जनाएको छ । विज्ञप्तिमा निषेधित क्षेत्र र कर्फ्युको समयमा समाचार सङ्कलन गर्न जाँदा सुरक्षाका लागि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महासंघले परिचय खुल्ने परिचयपत्र बोक्न, प्रेस ज्याकेट लगाउन, समूहमा हिँड्न र आफ्नो सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरूलाई आग्रह गरेको छ ।


.gif)