ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्यो साइकलमैत्री आकाशे पुल

काठमाडौं । ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए ।
शुसासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं.३ वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । स्थानीयको माग बमोजिम महानगरले यहाँ पुल निर्माणको लागि धेरै अघिदेखि प्रक्रिया अघि बढाएपनि सडक विभागको स्वीकृति समयमै नपाउँदा ढिला भएको जानकारी गराए ।
विकास निर्माणको काममा स्थानीयलाई महानगरसँग समन्वय र सहकार्य गर्न अनुरोध गरे । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक भएको बताउँदै शुसासन र अनुशासन कायम राख्नुपर्ने सबैलाई अनुरोध गरे । वडा नं। ४ का वडा अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा महानगरले निर्माण गर्न लागेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सहज हुने बताए ।
ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैैदलयालीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । सडक वारपार गर्दा भएको दुर्घंंटनाका कारण धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण थालेको प्रष्ट पारे । महानगरका अनुसार पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल सुन्दरीघाट मार्ग पूर्व र पश्चिमलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुनेछ ।