तालिवानको आक्रमणमा ५८ पाकिस्तानी सैनिककाे मृत्यु

काठमाडाैं । अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ ।
यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए। पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ ।
तालिवान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेको र यसमा ५८ जना पाकिस्तानी सैनिक मारिएका र करिब ३० जना घाइते भएका छन्। उनका अनुसार अफगान सुरक्षाबलले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा गरेको आक्रमण आफ्नो देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको बारम्बारको उल्लङ्घनको जवाफी कारबाही हो। यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव अझ गहिरो पारेको बताइएको छ ।
अफगान राज्य सञ्चालित मिडियाले पनि एक दर्जनभन्दा बढी पाकिस्तानी सैनिक मारिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा ठूलो सङ्घर्ष भएको जनाएको छ। तर इस्लामाबादले भने घटनाबारे तत्काल कुनै पुष्टि गरेको छैन । तालिवान सरकारको रक्षा मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले सीमामा ‘जवाबी र सफल अपरेसन’ सञ्चालन गरेको जानकारी दिएको छ ।