यम बरालको लोकगीत 'बाख्रा करायो', भन्छन्-अहिलेको सांगीतिक माहोलअनुसार चल्नुपर्ने रहेछ
काठमाडौं । गायक यम बरालले नयाँ गीत 'बाख्रा करायो' ल्याएका छन् । लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् ।
गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ भने विषम आचार्यले एरेन्ज गरेका छन् । बिहीबार साँझ काठमाडौंमा सीमित शुभचिन्तक र पत्रकारहरुमाझ यमले नयाँ गीतको भिडियो रिलिज गरे ।
प्रेमिकालाई फकाउन गरेको प्रेमीले गरेको भूमिकालाई रमाइलो ढंगमा गीतको भिडियोमा उतारिएको छ । भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरले अभिनय गरेका छन् । केशवराज भट्टले निर्देशन गरेको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन शाहको सम्पादन तथा कलर संयोजन छ । गीत सार्वजनिक कार्यक्रममा गायक बरालले 'बाख्रा करायो' अहिलेको सांगीतिक माहोलअनुसारको रहेको बताए ।
'मलाई सुनिरहेका श्रोताका साथै अहिलेको पुस्तालाई समेत मध्यनजर गरेर शान्तिश्रीको साथमा यो गीत ल्याएको हुँ । अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ,' उनले भने, 'धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ । अब सक्रिय ढंगले लाग्नेछु ।' यमले आफूले धेरै गीत तयार गरेर राखेको भए पनि अहिलेको परिस्थितिका कारण सार्वजनिक गर्न डर लागेको समेत बताए ।
'मैले आफ्नै जनराका धेरै गीत तयार पारेको पनि छु । तर के गरौं सांगीतिक माहोल यस्तो छ । लगानी उठ्नसक्छ भन्नेमा ढुक्क हुने ठाउँ छैन,' उनले अगाडि भने, 'समय र माहोल नबुझी गीत ल्याउँदा त्यो गीत शहीद होला कि भन्ने डर हुन्छ । कुनै समय पार्श्व गायनमा समेत एकछत्र राज गरेका यमको पछिल्लो समय सांगीतिक सक्रियता पातलिएको विषयमा धेरैले गुनासो गर्ने गरेका छन् ।
उक्त कार्यक्रममा पनि उनलाई यसबारे सोधियो- तपाईं बजारबाट टाढा गएको कि बजारले टाढा पुर्याएको ? 'यसमा बजारकै कुरा आउँछ । कतिपय अवस्थामा चाहँदा-चाहँदै पनि नयाँ सिर्जना लिएर आउन सकस हुनेरहेछ,' उनले भने, 'अहिले सबैभन्दा मुख्य कुरा नै लगानी हुन्छ । ठूलो लगानी गरेर गीत ल्याउन चुनौतीपूर्ण छ । बजारबाट लगानी रिटर्न हुने कुनै ग्यारेन्टी हुन्न ।' 'बाख्रा करायो'लाई 'ओएसआर डिजिटल' युट्युब च्यानलमा रिलिज गरिएको छ ।
https://youtu.be/QHpLIPdmyu8?si=fYpxcJElV5x6gEJ1

.gif)