sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

२६ हजार नयाँ मतदाता थपिए कर्णालीमा

२५ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशमा करिब २६ हजार नयाँ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार, मंसिर ५ गतेसम्म सञ्चालित मतदाता नामावली संकलन अभियान अन्तर्गत कर्णाली प्रदेशभर २६ हजार ३ सय ३५ जना नयाँ मतदाता थपिएका हुन् ।

‎यसअघि कर्णाली प्रदेशमा १० लाख ६ हजार ८ सय ३४ जना मतदाता रहेका थिए । नयाँ थपिएका २६ हजार ३ सय ३५ जनासहित अब प्रदेशमा कुल मतदाताको संख्या १० लाख ३३ हजार ४ सय ६९ पुगेको छ । प्राप्त तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै मतदाता राजधानी समेत रहेको सुर्खेतमा र सबैभन्दा कम मुगुमा थपिएका छन्। सुर्खेतमा ७ हजार ३ सय ६२ जना नयाँ मतदाता थपिँदा मुगुमा ७ सय ७४ जना मात्र थपिएका छन् ।

‎सुर्खेतपछि धेरै मतदाता थपिने जिल्लामा दैलेख परेको छ, जहाँ ३ हजार ६ सय २६ जनाले आफ्नो नाम दर्ता गराएका छन् । यसैगरी, सल्यान र जुम्लामा पनि नयाँ मतदाताको संख्या ३ हजार नाघेको छ। सल्यानमा ३ हजार १ सय ८० जना थपिँदा जुम्लामा ३ हजार ३६ जना नयाँ मतदाता थपिएका छन् । रुकुम पश्चिममा २ हजार ८ सय ४० र जाजरकोटमा २ हजार २ सय १० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

‎प्रदेशका अन्य जिल्लाहरूको तुलनामा हिमाली जिल्लाहरूमा भने मतदाता थपिने संख्या केही कम देखिएको छ । कालीकोटमा १ हजार ७ सय ७६ जना थपिँदा डोल्पामा १ हजार ७ जना नयाँ मतदाता थपिएका छन् । हुम्लामा ८ सय २४ जना नयाँ मतदाता थपिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्