भारतले नेपालका १२ वटा जलविद्युत परियोजनाको २५१ मेगावाट विद्युत निर्यातका लागि दियो स्वीकृति
काठमाडौं । भारत सरकारले नेपालका १२ वटा जलविद्युत परियोजनाको थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति प्रदान गरेको छ । भारतीय केन्द्रीय विद्युत प्राधिकरणले उक्त विद्युत नेपालबाट निर्यातका लागि स्वीकृति प्रदान गरेको नेपालस्थित भारतीय दूतावासले बताएको हो ।
नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको दूतावासको भनाइ छ । यो स्वीकृतिसँगै कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ वटा परियोजनाबाट) बाट ९४१ मेगावाट (२८ वटा परियोजनाबाट) पुग्ने दूतावासको भनाइ छ ।
पछिल्लो समय भारतबाट २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६.९३ अर्ब रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको दूतावासको भनाइ छ ।
यसअघि बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो । तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित हुन पुगेको थियो ।

.gif)