एक वर्षमा ५२ दिनमात्र चल्यो हेटौँडा सिमेन्ट
काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग एक वर्षमा ५२ दिनमात्र सञ्चालन भएको छ । २०८० साउनदेखि २०८१ असारसम्मको अवधिमा उद्योग ५२ दिनमात्र चलेको हो ।
कोइला अभाव र मेशिन मर्मतका लागि लामो समय उद्योगमा बन्द गर्नु परेको उद्योगका प्राविधिक फाँटका नितिन कर्णले जानकारी दिए । कर्णका अनुसार २०८० को साउनयता भदौमा ११ दिन, असोजमा १८ दिन, माघमा ८ दिन र फागुनमा १५ दिनगरी उद्योग जम्मा ५२ दिन चलेको हो । उनले चालु आर्थिक वर्षको साउन महिनामा एक दिनमात्र उद्योग चलेको जानकारी दिए ।
उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले कोइला अभाव मुख्य समस्या भएको बताए । उद्योगका पुराना उपकरण बिग्रिरहने समस्याका कारण पनि नियमित सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ । अहिले पनि मेशिन मर्मतको काम चलिरहेको उनले बताए । कोइला अभावको बेला उद्योग बन्द हुँदा मर्मतको काम गर्ने गरेको महाप्रबन्धक पाण्डेले बताए । कोइला सप्लायर्सको बक्यौता रकम धेरै भएका कारण कोइला आपूर्ति प्रभावित बन्ने गरेको उनको भनाइ छ ।
पछिल्लो समय २०८० फागुन महिनादेखि बन्द रहेको उद्योग २०८१ साउनमा एक दिन क्लिङ्कर उत्पादनका लागि चलेको कर्णले बताए । कर्णका अनुसार उक्त एक दिन चलेको उद्योगले १५८ टन क्लिङ्कर उत्पादन गरेको थियो । उद्योग त्यसपछि बन्दै छ । जसका कारण उद्योगका करिब १८० जना स्थायी कर्मचारी र एक सय जनाभन्दा बढी ज्यालाका कर्मचारी कामविहीन छन् भने हाल स्टक रहेको सिमेन्ट बिक्री गर्नेबाहेक अन्य कुनै काम हुन सकेको छैन ।
उद्योगले आफ्नो उत्पादन सुरुवातसँगै २०४३ सालबाट भैँसेखानीबाट लामसुरेस्थित कारखानासम्म चुनढुङ्गा ढुवानी गर्न सञ्चालनमा ल्याइएको रोपवे २०६१ सालदेखि बन्द छ । २०६० सालमा आएको बाढी पहिरोले भैँसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोपवे बन्द भएको थियो । त्यससँगै करिब ८ करोडको लगानीमा निर्माण भएको रोपवेको आर्थिक भार थेग्न नसकेपछि बन्द भएको थियो । प्रतिघन्टा ३ सय मेट्रिक टन चुनढुङ्गा ढुवानी गर्ने क्षमता रहेको रोपवेको सुरुमा एक सय ६५ वटा वकेट ९क्यारियर० रहेका थिए । हाल केही बकेटहरु बिग्रिएर झरिसकेका छन् ।

.gif)