sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेपाल टेलिकमको नाफा १६.४४ प्रतिशतले घट्यो

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको नाफा घटेको छ । कूल आयमा कमीसँगै खुद मुनाफामा पनि कमी आएको हो ।

यस आर्थिक वर्षमा नेपाल टेलिकमको कूल आय ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ छ । उक्त रकम अघिल्लो आर्थिक वर्षमा कूल ४४ अर्ब ४२ करोड ३६ लाख १८ हजार रुपैयाँ थियो । यस अनुसार नेपाल टेलिकमको कूल आय आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ८० करोड ६५ लाख अर्थात् ६.३२ प्रतिशतले कमी आएको छ ।

नेपाल टेलिकमको कूल सञ्चालन आय पनि ४.९९ प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ थियो । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ८१ करोड ३ लाख १५ हजार रुपैयाँले कमी हो । आर्थिक वर्ष २०७९/८० मा नेपाल टेलिकमको कूल सञ्चालन आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो ।

आय नै घटेकाले आर्थिक वर्ष २०८०/८१ मा खुद मुनाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मात्र छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ३० करोड २३ लाख ७८ हजार रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्ष खुद मुनाफा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ थियो । यस अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपाल टेलिकमको खुद मुनाफा १६.४४ प्रतिशतले कम भएको छ । प्रति शेयर आम्दानी ३६.७७ रहेको नेपाल टेलिकमको कर अघिको मुनाफा ३.९१ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ७७ करोड ९८ लाख ४ हजार रहेको कर अघिको मुनाफा अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८४ करोड २५ लाख ६२ हजार थियो । नेपाल टेलिकमले जीएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २० अर्ब रुपैयाँको भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्न २०८० पुसदेखि लगानी गर्न सकेको छैन । साथै सो सम्बन्धी भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपछि केही बैंकमा रहेका मुद्दती निक्षेपहरुलाई परिपक्क अवधि भन्दा अगाडि फुकुवा गरी भुक्तानी गरिएको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड ७३ लाखले कम भएको टेलिकमले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्