वाग्मती प्रदेशसभा बैठक बस्दै, विभिन्न तीन विधेयकका प्रतिवेदन पेस गर्ने कार्यसूचि
काठमाडौं । वाग्मती प्रदेशसभा बैठक आइतबार बस्दैछ ।
बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा बैठक २ दिन (६ र ७ गते) सम्म सञ्चालन हुने जनाएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा तय भएको कार्यसूची अनुसार आइतबार बस्ने प्रदेशसभा बैठकमा विशेष समय र समितिबाट तयार भएको ३ वटा विधेयकका प्रतिवेदन पेस हुनेछन् ।
प्रदेशसभा बैठकमा दलीय हिसाबमा सांसदहरूले ३ मिनेटमा आफ्नो धारणा राख्ने छन् । बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको २ वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा विधेयकको प्रतिवेदन सदनमा पेस गरिनेछ ।
शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।
गत साउन १६ गते विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।




