sevenstartv.com १० असार २०८३, बुधवार

कांग्रेसले सार्वजनिक गर्याे क्रियाशील सदस्यताको नयाँ तालिका

१० असार २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिक प्रक्रियालाई व्यवस्थित बनाउन पुनः कार्यतालिका सार्वजनिक गरेको छ ।  विभिन्न प्रकारका सदस्यता सम्बन्धी कामहरू आगामी असार २० गतेसम्म सम्पन्न गरिने गरि नयाँ काइतालिका सार्वजजिनक गरिएको हो ।

उक्त कार्यतालिकामा गत जेठ २८ गतेपछि क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूले स्वयं अद्यावधिक गर्न पाउने व्यवस्था गरिएको उल्लेख गरिएको छ । कांग्रेसले नेपाली जनसम्पर्क समितिहरूका सदस्यताको अद्यावधिक तथा नयाँ वितरण ,कांग्रेससँग समाहित भएका तथा पार्टी प्रवेश गरेका सदस्यहरूको सदस्यता व्यवस्थापनको कामसमेत सोही अवधिभित्र टुंग्याउने भएको छ ।

साथै नवीकरण नभएका क्रियाशील सदस्यताको नवीकरण, नयाँ क्रियाशील सदस्यता वितरण तथा १४औं महाधिवेशनमा स्थगन भएका सदस्यताको व्यवस्थापनसम्बन्धी काम पनि असार २० गतेसम्म सम्पन्न गर्ने योजना सहित कार्यतालिका बनाइएको कांग्रेसले जनाएको छ ।

कार्यतालिकामा उल्लेख भएअनुसार अद्यावधिक भएका सदस्यहरूको विवरण रुजु गर्ने काम भने असार महिनाभर सञ्चालन हुने कांग्रेसको भनाई छ । पार्टीभित्र सदस्यता व्यवस्थापनलाई लिएर देखिएका विवादका बीच सार्वजनिक गरिएको नयाँ कार्यतालिकालाई १५औं महाधिवेशनको तयारीसँगकै रुपमा हेरिएको छ ।

कांग्रेसले निर्धारित प्रक्रियाअनुसार सदस्यता व्यवस्थापन पूरा गरेर आगामी महाधिवेशनलाई व्यवस्थित र विवादरहित बनाउन जोड दिएको छ । विशेष महाधिवेशनपछि पार्टीको सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने अभियानअन्तर्गत कांग्रेसले अनलाइन प्रणालीमार्फत सदस्यता अद्यावधिकको प्रक्रिया अघि बढाइरहेको छ ।

पार्टी नेतृत्वले क्रियाशील सदस्यताको तथ्यांकलाई पारदर्शी, विश्वसनीय र अद्यावधिक बनाउने उद्देश्यका साथ यो प्रक्रिया सञ्चालन गरिएको बताउँदै आएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्