sevenstartv.com १५ असार २०८३, सोमवार

दही चिउरा खाएर मनाइँदै असार १५

बास्तविक किसानलाई कामको चटारो

१५ असार २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । हरेक वर्ष असार १५ गते मनाइदै आएको धान दिवस यस बर्ष पनि खेतको काम सँगै दही चिउरा खाएर मनाइँदै छ । असारको महिना कामको चटारोमा हुने अत्याधिक गर्मीलाई शीतलता दिने काम दही चिउराले गर्ने मान्यता छ । यसबेला दही चिउराले शरीरमा शीतलता सहित शक्ति सञ्चय गर्ने विश्वास समेत गरिन्छ ।

असार १५ भन्ने वितिकै किसान सम्झने दिन । असार महिनालाई मानो फलाएर मुरी उब्जाउने दिनको रुपमा समेत चर्चा गरिन्छ । खेती किसानीमा ब्यस्त मानिसहरु जस्तै वाधा र अफ्ठ्यारालाई पर सार्दै रोपाईमा समय खर्च गर्छन । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिने गरिन्छ ।

असार १५ बास्तविक किसानलाई कामको चटारो पर्ने दिन तर देखावटी रुपमा धान दिवस मनाउनेलाई गमलामा धान रोप्नेदेखि क्षणिक रमाईलाका लागि हिलोमा अस्लिल हर्कत देखाउँदै रमिता देखाउने दिन पनि हो ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँने चलन चलि आएको छ । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने लगाएतका विभिन्न चलनहरु चल्दै आएका छन् ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ भन्ने मान्यता समेत नेपाली समाजमा स्थापित भएको छ ।

यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । आसर १५को दिनलाई विशेष दिनको रुपमा लिने निर्णय विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीयले निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती तथा कृषी नै हो ।