विद्युतको लाइन नकाटी मर्मत सम्भारको थालनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिजुली मर्मतको समयमा लाइन नकाटि मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयका नेपाल विद्युत् प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लाइन नकाटि मर्मत सम्भार गर्ने कार्यको थालनी भएको जानकारीमा आएको छ ।
नेपालमै पहिलो पटक आइतबारबाट चालु अवस्थाको विद्युत लाइनमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले जानकारी गराएका छन् । उनले उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ सो कार्यको थालनि गरेको बताएका छन् ।
उनले विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेगरी नमुना कार्यको रुपमा सुरुवात गरिएको स्पष्ट पारेका छन् ।
वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझाले नमुना कार्यका रुपमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा रहेको ११ केभी लाइनको मर्मत गरी कार्यको थालनि भएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक नवराज ओझा, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख यादव बुटवल ग्रिड महाशाखा प्रमुख अनिल बन्जाडेसँगै विभिन्न वितरणका केन्द्र प्रमुखहरू, आयोजना प्रमुखहरुको सहभागितामा तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको प्रयोग गरि चालु लाइनको मर्मत कार्यको थालनि भएको थियो ।
भविष्यमा अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरि मर्मत सम्भार कार्यको प्रयोग गरी लाइन मर्मत सम्भार गर्न सकेको खण्डमा मर्मत कार्यमा गर्नुपर्ने अनिवार्य लाइन कटौतीमा कमी आई उपभोक्ताहरुले नियमित र थप भरपर्दो विद्युत सुविधा प्राप्त गर्ने अपेक्षा प्राधिकरणको रहेको छ ।
