प्रधानमन्त्री ओली अमेरिकामा
काठमाडौं । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटने हुनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीसँग न्युयोर्कमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीले कुनै जवाफ दिएको थिएन । तर प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेसँगै भारतले भेटका लागि तयार रहेको बताएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य भए पनि भारतीय पक्षबाट दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुनसक्ने सन्देश गयराति मात्र प्राप्त भएको हो । आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ । चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुन लागेको हो ।




