sevenstartv.com १६ असार २०८३, मङ्गलवार

परराष्ट्रमन्त्री डा. राणा क्यानडा प्रस्थान

३१ भदौ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज साँझ क्यानडा प्रस्थान गरेकी छन् । 

क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरिन् । 

क्यानडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

सो सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

सो बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्नुहुने छ । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदै छ ।

अमेरिकामा रहँदा मन्त्री डा. राणाले विभिन्न फोरमहरूलाई सम्बोधन गर्ने र द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछिन् ।

मन्त्री डा राणा अमेरिकाबाट कतारको दोहा प्रस्थान गर्नेछिन् । उनी दोहामा आगामी अक्टोबर २ र ३ मा आयोजित एसिया कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने कार्यक्रम रहेको छ ।

मन्त्री डा राणा आगामी अक्टोबर ४ मा स्वदेश फर्किनेछिन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्