sevenstartv.com १३ साउन २०८३, बुधवार

एमालेका समर्थनमा कर्णालीको मुख्यमन्त्री बने मंगलबहादुर शाही

१३ साउन २०८३, बुधवार स्टार संवाददाता

सुर्खेत ।  एमालेको समर्थनमा कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता समेत रहेका शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए ।

४० सदस्यीय कर्णाली सभामा एमालेका ९ (सभामुखबाहेक) जना र नेकपाका १४ गरी २३ सांसदको शाहीलाई समर्थन रहेको छ । प्रदेश सरकार गठनका लागि २१ सांसद आवश्यक पर्छ । शाहीले यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

चैत २०८० मा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका थिए । केन्द्रमा नेकपा र एमालेबीचको ३ बुँदे सहमतिसँगै ७ प्रदेशमध्ये कर्णालीबाट सत्ता फेरबदर सुरू भएको छ ।

यसअघि एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले ओली, प्रचण्डबीचको सम्झौताको संघारमा राजजीनामा दिएका थिए । सातै प्रदेशमा नेकपा र एमालेको सरकार गठन हुने चरणमा रहेको छ जसमा नेपाली कांग्रेस सातै प्रदेशमा प्रतिपक्षको भुमिकामा रहेने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्