सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू कायम
सीडीओ अर्यालद्धारा कर्फ्यूको पालना गर्न अनुरोध
विराटनगर । सुनसरीको कप्तानगञ्जमा आइतबार हिन्दू, मुस्लिम बिच भएको झडपपछि सुनसरी लगाएतका क्षेत्रमा समस्या उत्पन्न भएको छ । विभिन्न स्थानमा प्रदर्शन सुरू सँगै हाल मुख्य राजमार्ग क्षेत्र र इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ ।
सुनसरीको देवानगञ्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए पनि सुनसरीको इटहरीदेखि कोशी ब्यारेजसम्मको पूर्व पश्चिम सडक खण्डमा प्रदर्शन चर्किए पछि कर्फ्यू आदेश जारी गरिएको हो । देवानगञ्जमा दुई समुदायका बीचमा भएको झडप पछि शसस्त्र प्रहरीले गोली चलाँउदा एकजनाको ज्यान गएपछि आज घटनाको विरोधमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शन क्रममा आगजनी, तोडफोड, लुटपाट र सडक अवरोधका घटना भएको बताइएको छ।
स्थानीयका अनुसार विशेषगरी कोशी कटान क्षेत्रमा रहेका पसलहरूमा तोडफोड, आगजनी र केही स्थानमा लुटपाटसमेत भएको छ। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् भने अन्य सडकमा पनि टायर बालेर प्रदर्शन गरेका छन्।
तोडफोड र आगजनी भएपछि सुनसरीको पकलीदेखि कोशी व्यारेजसम्म मुख्य राजमार्गमा कर्फ्यू जारी भएको छ । सुनसरीका सीडीओ ईश्वर प्रसाद अर्यालद्धरा जारी सूचना अनुसार अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक गर्न र घेराउ गर्न नपाउने गरी निषेध गरिएको छ। देवानगञ्ज क्षेत्रमा पनि हिजोदेखि नै कर्फ्यू जारी रहेको छ ।


















