पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने
काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानतमा छाड्ने भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार कसैको जिम्मा लगाएर छाड्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको बताइएको हो ।
ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदनमा २३ भदौमा गोली प्रहारबाट केहीको मृत्यु भइस्केपछि पनि गोली रोक्नतिर तत्कालीन प्रधानमन्त्री ओली लगायत कुनै पनि पदाधिकारी अग्रसर नभई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेको भनेको थियो । त्यसअनुसार ओली र लेखकलाई मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो ।
मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ।त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ। यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ।
