मधेशमा राजनीतिक संकट, सभामुख र उपसभामुख नै आमने सामने
काठमाडौं । मधेश प्रदेशमा राजनीतिक संकट गहिरिएको छ । बर्खास्तमा परेकी निवर्तमान प्रदेश प्रमुख सावित्रा भण्डारी सुबेदीले नेकपा एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेको कारण त्यसले राजनीतिक संकट निम्त्याएको हो ।
सत्तामा विवाद भएपछि प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने भएसँगै उनले प्रदेशसभाका ५ जना सांसदहरुको पद रिक्त हुने निर्णय गरेका थिए । तर उपसभामुख बबिताकुमारी राउतले सभामुख मण्डलको निर्णय बदर गरिदिएकी छन् ।
आफूविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार प्रदेशसभाका पाँच सांसदलाई पदमुक्त गरेका थिए ।
लगातार १० वटा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै मण्डलले जनता समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरिएको सूचना जारी गरेका थिए ।
लगतै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको कारण महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गर्दै मण्डलको निर्णय बदर गरिदिएकी हुन् ।
सभामुख मण्डल एमालेबाट निर्वाचित भएका हुन् भने राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन् ।

.gif)