नयाँ आईजीपीको खोजी शुरु
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले अवकाश पाउने दिन नजिकिदै जाँदा नयाँ आईजीपीको खोजी शुरु भएको छ । तीसवर्षे सेवा अवधि पूरा गर्दै खापुङ अवकाशमा जान लागेका हुन्। उनी नेतृत्वमा रहँदा भदौ २३ को जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भयो ।
त्यसको भोलिपल्ट सरकारी हत्याको विरोधमा आन्दोलन भएपछि कारागारबाट कैदी फरार भएका छन्। हतियार लुटिएका छन्। यसले सुरक्षा चुनौती बढेको छ। अबको नयाँ आइजीपीको काँधमा सुरक्षा व्यवस्थालाई लयमा फर्काउनु पर्ने महत्त्वपूर्ण चुनौती छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीबीच प्रतिस्पर्धा तीव्र बनेको छ। आइजीपी बन्ने दौडमा एआईजी दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह रहेका छन् । कार्की, केसी र अधिकारी २०८२ वैशाखमा आईजीपी खापुङसँगै एआईजीमा बढुवा भएका थिए शाह भने २०८२ जेठ १५ गते बढुवा भए । वरीयता सूचीअनुसार कार्की पहिलो, अधिकारी दोस्रो‚ डा. केसी तेस्रो र शाह चौथो नम्बरमा छन्। डा. केसी उपत्यका प्रहरी प्रमुख रहँदा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएको थियो ।
ज्येष्ठता, कार्य क्षमता, नेतृत्व गर्ने क्षमता लगायतका आधार विद्यमान ऐन कानूनमा निर्दिष्ट गरेको छ। ज्येष्ठतालाई अवमूल्यन गर्न नहुने प्रहरी अधिकारीहरू बताउँछन् । नेपाल प्रहरीलाई शान्ति सुरक्षा अमनचयन कायम राख्ने, अपराध नियन्त्रण अनुसन्धानको प्रचलित कानुन अनुसारको जिम्मा दिइएको छ । पछिल्लो समय जेनजी आन्दोलनपछि सुरक्षा चुनौती थप बढेको छ । एकातिर प्रहरीको मनोबल खस्किएको छ भने प्रहरीको स्रोत साधनदेखि भौतिक संरचनामा क्षति पुगेको छ ।

.gif)