२१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलकाे आग्रह
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आग्रह गरेका छन् । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिंदै निर्वाचन सफल बनाउनु पर्ने बताए । लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने उनले बताए ।
राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गरेका छन् । सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उनको भनाई छ ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिह्न लोगो सार्वजनिक गरिएको थियो भने नयाँ च्यानल एन टिभी वर्ल्डको शुभारम्भ गरिएको थियो ।

.gif)