एकीकृत समाजवादीले सोमबार स्थापना दिवस मनाउने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले भदौ ९ गते पार्टीको चौथो स्थापना दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । पार्टीले देश तथा विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई पनि दिवस मनाउने भएको हो ।
पार्टीले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय सङ्गठन र विभिन्न विभाग तथा तहहरूले रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन दिएको जनाइएको छ । पार्टी जिल्ला कमिटीले दिवसका अवसरमा सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन, शुभकामना आदानप्रदानलगायत कार्यक्रम गर्ने जनाइएको छ । केन्द्रीय कार्यालयले काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था, चुनौती र कार्यदिशा विषयक गोष्ठीमा अध्यक्ष माधवकुमार नेपालले विश्व कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिनेछन् । समुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्यका साथ २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो ।
अहिले विभिन्न कारणले कम्युनिष्ट पार्टी टुटफुट भएर विभिन्न समूहमा छरिएका छन् । तत्कालीन नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने उद्देश्यले २०७८ साल भदौ ९ गते नेकपा एकीकृत समाजवादी स्थापना भएको थियो ।

.gif)