पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको पुरै ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले मधेस प्रदेशले विधान संशोधनको लागि बर्दिबासमा आयोजना गरेको सुझाव सङ्कलन बैठकमा महासचिव पोखरेलले विधान महाधिवेशनमा विधान संशोधनका लागि केन्द्रको प्रस्ताव तलसम्म पठाइसकिएकोले त्यसमा आवश्यक सुझाव दिन आग्रह गरेका हुन् ।
पार्टीमा उमेरहद, कार्यकाल र पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने कि नफर्कने भन्ने विषय पार्टीले टुङ्ग्याइसकेकोले अब त्यसमा बहस आवश्यक नरहेको उनले स्पष्ट पारे । नेकपा एमालेको राष्ट्रिय गन्तव्य समृद्ध नेपाल सुखी नेपाली भएको उनले बताएका छन् । अब यो पार्टीका आकाङ्क्षा मात्र होइन लक्ष बन्नु पर्नेमा उनले जोड दिएका छन् ।
मुख्य नेतृत्वको वरिपरि सबै केन्द्रित रहनु पर्ने बताउँदै उनले बहुपदीयको अर्थ बहुगुट हुनु नभएको उनले स्पष्ट पारे । पार्टीको नीति र कार्यक्रम प्रति सबैको प्रतिबद्धता तथा नेतृत्व प्रतिको अधीनस्थताले पार्टीलाई बलियो बनाउने उनको भनाई छ । उनले पार्टीलाई बहुसङ्ख्यक जनताको माझमा पुर्याउन पार्टीमा दुई खालका सदस्यताको प्रस्ताव ल्याइएको बताए ।
राजनीतिक संघर्षको केन्द्रिय थलो निर्वाचन भएको बताउँदै अब चुनावमा काम लाग्ने नेता, कार्यकर्ता र पार्टी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसकै लागि एमालेले पार्टी सदस्य र संगठित सदस्यको अवधारणा ल्याएको पोखरेलले बताए । अहिले पार्टी र पार्टी नेतृत्वको विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनेले बताएका हुन् ।
पार्टीको महाधिवेशनमा पार्टीलाई कसरी निर्णायक शक्ति बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिने उनले बताए । मिसन २०८४ लाई केन्द्रित गरी पार्टीको अभियान अघि बढ्ने पोखरेलले स्पष्ट पारे । लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको उनले बताए । राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने पोखरेलले बताएका हुन् ।
लोकप्रियताका माध्यमबाट चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ठगीमा संलग्न भएकै कारण जलमा पुगेको पोखरेलको भनाइ छ । अहिले मुलुकमा शान्ति, समृद्धि, स्थिरता र सुशासनको लागि एमालेले सरकारको नेतृत्व गरेको उनले बताए । आफ्नो स्वार्थका लागि समाजलाई उत्तेजित बनाउने काम नगर्न पनि पोखरेले आग्रह गरेका छन् ।

.gif)