इन्टरपोलद्वारा पूर्वप्रधानमन्त्री देउवा दम्पत्तिबिरुद्ध रेड नोटिस जारी गर्न इन्कार
काठमाडौँ । २०८२ चैत २४ गते काठमाडौँ जिल्ला अदालतले शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गर्यो । पक्राउ पुर्जी जारी भए सँगै विभिन्न चर्चा परि चर्चा चलि रहेका बेला इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री देउवा र पूर्व परराष्ट्रमन्त्री राणा बिरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ पठाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि देउवा दम्पतिबिरुद्व पक्राउ पुर्जी जारी गरिएको थियो । विभागले पक्राउ पुर्जीपत्र र अनुसन्धान भइरहेको कसुर उल्लेख गरी रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।
देउवा दम्पत्तिबिरुद्ध सम्बन्धित कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ । देउवा दम्पत्ति हाल हङकङमा रहेको बताइए पनि यसबारे औपचारिक विवरणहरू सरकार र देउवाको परिवारबाट आधिकारिक रूपमा सार्वजनिक भएको छैन ।
२४ भदौको जेन–जी आन्दोलनमा सरकारमा रहेका अन्य नेताहरुलाई सेनाले सुरक्षित रुपमा अन्यत्र लगेको भएता पनि देउवा दम्पति भने जेन–जी आन्दोलनको नराम्रो शिकार बने । उनीहरु माथि निवासमा आक्रमणमा हुँदा दुवैजनालाई सेनाको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । त्यसलगत्तै उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।
त्यहाँबाट फर्केपछि पुनः देउवा त्रिभुवन विमानस्थलबाट सिंगापुर गएका थिए भने आरजु भारत हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू देशबाहिर रहेकै बेला सरकारले उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानेको थियो । जेन–जी आन्दोलनका क्रममा देउवा निवासमा भएको तोडफोड र आगजनी पछि भेटिएको ठुलो रकमको भिडियो सार्वजनिक भएपछि उनीहरूको सम्पत्तिको स्रोतबारे छानबिन सुरु भएको हो ।
सो भिडियोमा देखाए जस्तो अबैध सम्पति आफु सँग नरहेको देउवा दम्पतिको तर्क थियो । देउवाले यसबारे प्रतिक्रिया दिँदै वास्तविकता समयक्रमसँगै खुल्दै जाने र आफू सबै खाले चुनौती बेहोर्न तयार रहेको बताउँदै आएका छन् ।
