sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । गएको भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनका क्रममा करिब ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको तथ्याँक सार्वजनिक भएको छ ।

क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा ३६ अर्ब ३० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले हिजो प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाएको प्रतिवेदनमा भौतिक संरचनाअन्तर्गत दुई हजार १ सय ६८ सङ्घसंस्था तथा निकाय प्रभावित भएको उल्लेख छ ।

आन्दोलनका क्रममा सातै प्रदेशमा ५४ वटा जिल्ला र २ सय ६२ पालिकामा क्षति भएको थियो । प्रतिवेदनअनुसार १२ हजार ६ सय ५९ वटा गाडी क्षति हुँदा १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँ बराबरको नोक्सान हुनुकासाथै सरकारी÷सार्वजनिक क्षेत्रको ४४ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । त्यसैगरी, दुई हजार ६ सय ७१ भवनमा क्षति पुगेको छ र त्यसमा पनि क्षतिको मूल्याङ्कन ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँ बराबर रहेको छ । 

प्रतिवेदन अनुसार सामुदायिक तथा अन्य क्षेत्रको पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । निजी क्षेत्रको क्षतिको मूल्याङ्कन ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ बराबर र सरकारी क्षतिमा तीन तहमध्ये सङ्घीय सरकारको ६८ प्रतिशत,  प्रदेशको १० र पालिकाको २२ प्रतिशत छ । प्रतिवेदन अनुसार आन्दोलनका कारण २ हजार ९ सय ९९ जनाको रोजगारी प्रभावित बनेको छ । साथै, १३ अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबर वस्तु तथा सेवा उत्पादन प्रभावित भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्