गाजामा युद्ध रोक्न ट्रम्पको आग्रह
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै गाजामा इजरायलको युद्ध तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई दिएको राज्यको मान्यता हमासका लागि पुरस्कार भएको दाबी गरे ।
ट्रम्पले गाजामा रहेका बन्दीहरूलाई घर फर्काउनु पर्नेमा जोड दिए । ‘हामीले यो गर्नैपर्छ । शान्तिका लागि वार्ता गर्नुपर्छ । हामीले बन्धकहरू फर्काउनु पर्छ । हामीलाई सबै २० जना फर्किनुपर्छ’, उनले भने । यो सन्दर्भ ४८ मध्ये अझै बाँचेका २० कैदीसँग सम्बन्धित थियो । शान्तिलाई समर्थन गर्नेहरूले बन्धकहरूको तत्काल रिहाइ माग्नैपर्ने उनले महासभालाई आग्रह गरे ।
महासभाको छेउमा ट्रम्पले साउदी अरेबिया, कतार, युएई, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानका नेतासँग गाजाबारे छलफल गरे । टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले बैठकलाई धेरै फलदायी भनेका छन् । उनले संयुक्त घोषणा जारी हुने समेत जनाएका छन् ‘यो निकायका केही सदस्यहरूले एकतर्फी रूपमा प्यालेस्टिनीको मान्यता दिन खोजिरहेका छन् ।
ट्रम्पले इजरायललाई कम मात्र आलोचना गर्दै युद्धविराम वार्ता असफल हुनुको कारण हमासलाई ठहराए । हमासले पटक–पटक शान्ति प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भने अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि युद्धविराम वार्ता तोडेको आरोप लाग्दै आएको छ । गत मार्चमा उनले युद्धविराम तोडेर गाजामाथि पूर्ण नाकाबन्दी गर्दै भोकमरी निम्त्याएका छन् ।
यसै महिनामा इजरायलले कतारको राजधानी दोहामा बसेका हमास नेताहरूलाई लक्षित आक्रमण गर्यो । हमासले भने युद्ध रोक्ने वार्ता विफल हुनुमा आफूहरूको कुनै हात नभएको दाबी गर्दै नेतान्याहु मात्र अवरोधक भएको बताएको छ । ‘हामीले कहिल्यै सम्झौता अवरुद्ध गरेका छैनौँ । सबैलाई थाहा छ कि नेतान्याहु नै एक मात्र बाधक हुन्’, वक्तव्यमा भनिएको छ ।
हमासले युद्धविराम, बन्धक र प्यालेस्टाइनी कैदीहरूको आदानप्रदान र इजरायली सेनाको गाजाबाट पूर्ण फिर्तीको माग राखेको छ । तर नेतान्याहुले पूर्ण फिर्ती अस्वीकार गर्दै गाजा सिटी कब्जा गर्न स्थलगत आक्रमण थाले, जसले सयौँ प्यालेस्टाइनीको ज्यान लिएर हजारौँलाई विस्थापित गर्यो । युद्ध सुरू भएदेखि अहिलेसम्म ६५ हजार भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । संयुक्त राष्ट्रसंघको एक आयोगले यस युद्धलाई नरसंहार सरह भनेको छ, तर अमेरिका भने अझै इजरायललाई हतियार आपूर्ति गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

.gif)