राष्ट्रपति पौडेलले दिए जितिया पर्वको शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जितिया पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याई आपसी सद्भाव र सहिष्णुतामा योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेसी तथा केही अन्य समुदायका महिलाहरूले आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता र शान्तिको कामना गर्दै भगवान् जिमुतवाहनको पूजा आराधना गर्दै मनाउने गरिन्छ । आश्विन कृष्णपक्षको अष्टमी तिथिमा महिलाहरू कठोर उपवास बस्दै शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने परम्परा परापूर्वकालदेखि चल्दै आएको छ ।
उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त नेपालमा मौलिक पर्वहरूले आपसी सम्मान, सद्भाव, पारिवारिक एकता र प्रेम कायम गर्दै महिलाप्रतिको श्रद्धा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्याइरहेको बताए ।

.gif)