संसद विघटन असंवैधानिक छ : नेपाल बार
काठमाडौं । नेपाल बार एशोसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको कदमप्रति आपत्ति जनाएको छ । गएराति नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद विघटन गरेपछि एक विज्ञप्ति जारी गर्दै बारले उक्त कदम असंवैधानिक भएको जनाएको हो ।
बारले विज्ञप्तिमा राष्ट्रपतिको उक्त कदम स्वेच्छाचारी र असंवैधानिकका साथै कानूनी शासन, संवैधानिक सर्वोच्चता तथा संविधानवादको विपरित रहेको उल्लेख गरेको छ । राष्ट्रपतिको यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रुपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशिता सहितको संघीयताजस्ता उपलब्धि खोस्नेतर्फ लक्षित रहेको बारको ठहर छ ।
प्रतिनिधिसभा विघटन गरिनु सर्वोच्च अदालतको यसअघिको संसद पुनस्थापना सम्बन्धी निर्णय विपरित हुने उल्लेख गर्दै बारले कुनै पनि बहानामा पश्चगामी कदमलाई अस्वीकार गर्ने बताएको छ ।बारले लोकतन्त्रको तत्काल पुनस्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाको लागि जोडदार माग गरेको छ ।

.gif)