नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्की देशको प्रथम महिला प्रधानमन्त्री बनेकी छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन् । उनले शुक्रबार नै शपथग्रहण गरिसकेकी छन् ।
संघीय संसद्ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद् गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।
संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । सोही भागको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ ।

.gif)