sevenstartv.com २३ मंसिर २०८२, मङ्गलवार

सरकार गठनको सकस, बिहानको लागि बोलाइएको वार्ता दिउँसोका लागि सर्‍यो

२७ भदौ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अनपेक्षित रुपमा सरकारविहीनताको अवस्थामा पुगेको देशले अझै पनि सरकार प्रमुख पाउने कुरामा सकस उत्पन्न भएको छ । मंगलबारको हिंसात्मक आक्रमणपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै सरकारविहीन बनेको देशले शुक्रबारसम्ममा प्रधानमन्त्री पाउने लगभग पक्का भए पनि अझैसम्म त्यसको प्रक्रियाका बारेमा सहमति हुन सकेको छैन । 

सोमबारको प्रदर्शनबाट उत्पन्न परिस्थिति र मंगलबारको आगजनीपछि त्यसको आयोजक जेनजी पुस्तासँग नेपाली सेनाले मंगलबार राति नै वार्ता गर्ने बताएको थियो र जेनजी पुस्ताको आधिकारिक नेतृत्वकर्ता अगाडि आउन नसक्दा वार्ता हुन सकेन । बुधबार दिनभर जसो जेनजीका युवाहरु आन्तरिक तयारीमा लाग्दै गर्दा उनीहरुको पहिलो रोजाईमा रहेका काठमाडौं महानगरपलिका प्रमुख बालेन्द्र साहले चासो नदेखाएपछि केही युवाहरु वार्ताका लागि नेपाली सेनाको मुख्यालय जंगी अड्डामा गएका थिए । 

नेपाली सेनाले यो आन्दोलनका स्टेक होल्डर राष्ट्रिय स्वतन्त्र पार्टी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि भएकोले उनीहरुसँग पनि वार्ता गर्नुपर्ने बताएपछि उनीहर हच्किएका थिए । प्रधानसेनापति अशोकराज सिग्देलसँग प्रसाईंका साथै धरान उृपमहानगरका प्रमुख हर्क साम्पाङलगायतले भेटेका थिए । सेनाको मुख्यालयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङ, डा. सन्दुक रुइत लगायतको नाम आएको थियो भने केहीले राजतन्त्र पुनर्स्थापन गर्नुपर्ने तर्क पेश गरेका थिए । 

मुख्यालयभित्र विभिन्न तर्क वितर्क हुन थालेपछि बाहिर भने विभिन्न व्यक्तिको समर्थन गरेकाहरुले नाराबाजी गरेका थिए । बिहीबार सैनिक मुख्यलय बाहिर जेनजी पुस्ताबीच नै झडप बनेको थियो । राति सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनेृ लगभग सहमति भए पनि संसद के गर्ने भन्ने टुंगो लाग्न सकेन । आज बिहान ९ बजे बसेर टुंगो लगाउने भनिएकोमा उक्त वार्ताको समय दिउँसो दुई बजेका लागि सारिएको छ । यसले नयाँ सरकारको गठन झन् सकसपूर्ण बनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्