तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गयो : प्रकाश शरण महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको बताएका छन् । उनले बुधबार देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो नचाहेको बताएका हुन् । उनले नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले भने 'धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु ।'
उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु दुखद भएको बताए । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको बताएका छन् ।
उनले कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प नभएको बताएका हुन् । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य रहेके उनको भनाई छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । उनले नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुबिधा नभएको बताएका हुन् ।
पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको बताएका छन् ।

.gif)