'राजनीतिक दलहरूको मनस्थिति पूर्ण समानुपातिक निर्वाचनसम्म पुगेको छैन'
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लैजान राजनीतिक दलहरूको मनस्थिति अहिलेसम्म नपुगेको बताएका छन् ।
शुक्रबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा मन्तव्य दिँदै मन्त्री गुरुङले पूर्ण समानुपातिक प्रणालीमा जान सके मात्रै उपेक्षित समुदायलाई राज्य संयन्त्रसँग जोड्न सकिने बताएका हुन् ।
उनले संविधानले आदिवासी तथा अन्य पिछडिएका समुदायलाई दिएको अधिकार कार्यान्वयन गर्न जनमत सिर्जना गर्न आवश्यक रहेको बताए । मन्त्री गुरुङले पछिल्लो १० वर्षमा नेपालको वर्ग संरचना परिवर्तन भएको र त्यसअनुसार राजनीतिक र निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने आवश्यकता औँल्याए ।
उनले आदिवासी, पिछडिएका र वञ्चित समुदायलाई राज्यको मूलधारमा ल्याउन संरचनागत रूपान्तरण आवश्यक रहेको उल्लेख गर्दै, एकात्मक शासन प्रणालीमा विविधतामा एकता सम्भव नदेखिएको कारण सङ्घीयता ल्याउनुपरेको पनि स्मरण गराए ।

.gif)