समृद्धिको बाधक बनेको बेथितिको अन्त्य, सुशासन र सेवा प्रवाहामा चुस्तता पहिलो शर्त : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउन हालको पाठय्क्रम, सिकाई र अध्यापन विधिमा सुधार गर्ने नीति अवलम्बन गर्नु आवश्यक रहेको बताएका छन् । मादी माध्यमिक विद्यालय सङ्खुवासभाको ७५ औँ वार्षिकोत्सव तथा हीरक महोत्सव कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमता र उद्यमशीलतासँग जोडेर जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
राष्ट्रपति पौडेलले शिक्षा समृद्धिको आधार भएको बताए । त्यसैले, राजनीतिक परिवर्तन र आधुनिक समयको मागअनुरुप तिव्र विकासको चाहनालाई साकार बनाउने गुणस्तरीय समयसापेक्ष शिक्षा आजको आवश्यकता भएको उनको भनाई थियो । उनले देशको लागि स्वदेशमै केही गरौं भन्ने सृजनशील जनशक्तिको आवश्यकता औल्याए । उनले दिनहुँ ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न व्यावसायिक वातावरणमा सुधार एवं रोजगारीका अवसर सिर्जना गर्न ढिला गर्नु नहुने बताए ।
उनले नेपाली जनताको ठूलो बलिदान, त्याग र संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र यो व्यवस्थामार्फत समान रुपले स्वतन्त्रताको उज्यालो एवं फराकिलो राजमार्गमा हाम्रो मुलुक अघि बढ्दैछ । आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेको उनको भनाई थियो । उनले सुन्दर प्रकृतिले प्रचुर पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभा जलविद्युत उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको तथा छिमेकी मुलुक चीनसँग जोडिएको किमाथाङ्का नाका व्यवस्थित गरी व्यापार व्यवसाय बढाउन सकिने सम्भावना उत्तिकै रहेको बताएका छन् ।

.gif)