sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाली कांग्रेसलाई एकजुट बनाउन म सभापतिमा उठ्छुः डा. कोइराला

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टीमा रहेको गुटबन्दीको अन्त्य गर्नका लागि आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार उठ्ने बताएका छन् । पूर्व महामन्त्रीसमेत रहेको डा. कोइरालाले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न १५ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका हुन् । 

कांग्रेस जिल्ला पार्टी कार्यालय धनुषामा नेता कार्यकर्ता भेटघाट गर्दै उनले गुटबन्दीले कांग्रेसको अवस्था दिनदिनै बिग्रिँदै गएकाले त्यसलाई आफूबाहेक कोहीले अन्त्य गर्न नसक्ने बताए ।

डा. कोइरालाले भने ‘अहिले म देशभरि नेता कार्यकर्ता भेटिरहेको छु। गठबन्धनले गर्दा कांग्रेसका धेरै नेता–कार्यकर्ताहरू अवसरबाट वञ्चित हुनु परेको छ । म गठबन्धनको घोर विरोधी मान्छे हुँ । बैशाखी चाहिन्छ भने पार्टी किन चलाउनु हुन्छ ? आफैं हिंड्नुपर्छ । कांग्रेसलाई एकजुट पार्नुपर्छ। बलियो बनाउनुपर्छ । टिकट एक जनाले पाउँछ सबै हराउन भिड्छ अनि हारि हाल्छ नि । म सभापति भएपछि यस्तो अवस्था हुँदैन ।’

डा. कोइरालाले प्रभावशाली नेताहरू बसेर टिकट नबाँडेर विकेन्द्रीकरण गरी वडा, पालिका, क्षेत्र र जिल्ला सभापतिहरूको सल्लाहअनुसार टिकट दिनुपर्ने बताए । 

कांग्रेसका भातृ संघहरू अस्तव्यस्त भएको र क्रियाशिल सदस्यता वितरण सही तरिकाले नभएको उनले सुनाए । कतिपय वडामा क्रियाशील जति भोट चुनावमा नआएको उनको भनाइ छ ।

कांग्रेसको विधानमा निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए । ‘वडा इकाइदेखि केन्द्रीय तहसम्म एउटै सभापति पदमा मात्रै निर्वाचन हुनुपर्छ। सबै पदमा निर्वाचन गराउँदा गुटबन्दी बढ्छ । जसले गर्दा आम चुनावमा अन्तर्घात हुने गरेको छ’, उनले भने, ‘एउटै सभापति पदमा चुनाव हुनुपर्छ । काम गर्न नसकेपछि फेर्नुपर्छ ।’ सबै कुरा विधानमै लेखेर नभई व्यवहारमा देखाउनुपर्ने उनको कथन छ । एसियामै पहिलो महिला मन्त्री बनाएर बीपी कोइरालाले उदाहरण दिइसकेको उनले बताए ।​

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्