सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जुटौँ : परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् ।
युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा बनेपा नगरपालिका वडा नं ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको आज शुभारम्भ गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल अकल्पनीय समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताएकी हुन् ।
नेपालले केही महिनाअघि पनि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्था र व्यवस्थाका बारेमा आफ्ना धारणा सहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उनले दिइन् ।
मन्त्री डा. राणाले नेपालका तर्फबाट आफूले पहिलो पटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रुपमा उठाएको स्मरण गर्दै अब कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्डसहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि लाग्ने पनि बताइन् ।
अहिले देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न र भोलिको पुस्ताको भविष्यलाई सुरक्षित बनाइराख्न मुलुकको युवा पुस्ताको भूमिका अझ महत्वपूर्ण रहेको उनको भनाई थियो । यस विषयमा थप अध्ययन अनुसन्धान गर्न, वातावरण संरक्षणका कार्यक्रमहरुमा सहभागिता जनाउन र नेपालको प्राकृतिक क्षेत्र र जलसम्पदाको संरक्षण र सम्वर्धनका क्षेत्रमा अहिल्यैदेखि लाग्न उनले युवा पुस्तालाई सुझाव पनि दिएकी छन् ।

.gif)